ताप्लेजुङ, भदौ १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेलिब्रिज निर्माण गरिएको हो ।
बेजिब्रिज निर्माण सम्पन्न भएसँगै शनिबार उद्घाटन गरिएको छ । तमोर इनर्जी प्रालिले निर्माण गरेको बेलिब्रिजको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा (विकास), माथिल्लो तमोर जलविद्युत आयोजनाकी प्रमुख सम्झना क्षेत्री लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो ।
कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेलिब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बेलिब्रिजको लम्बाई ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ ।
उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ ।
आयोजनाले यसअघि फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ ३ लिङ्खिमको सिमानामा रहेको सिस्ने खोलामा पनि करिव चार करोड रुपियाँको लागतमा २७.३ मिटर लम्बाई र ४.५ मिटर चौडाइ रहेको मोटर गुड्ने बेलिब्रिज निर्माण गरेको छ ।
तमोर इनर्जी प्रालिको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ ।





