काठमाडौं। रसुवाको भोटेकोसी नदीमा बुधबार (भदौ १०) बिहान आएको बाढीका कारण ठूलो जनधनको क्षति भयो। बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ। सुरक्षा निकाय निरन्तर उद्धार, खोज र राहतमा जुटेको छ।

यद्यपि, बाढीमा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। बाढीमा परी मृत्यु भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेकामध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ। रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ।

धादिङमा संकलन गरिएका २७ शव पोखरा लगिएको छ। १० शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेसनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ।

तनहुँमा फेला परेकामध्ये ९ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ।

गोरखामा भेटिएका मध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ।

नवलपरासी (सुस्ता पूर्व)मा भेटिएकामध्ये ६ शव मध्यबिन्दु नगर अस्पताल चोरमारामा, ३६ शव गैँडाकोट नगर अस्पतालमा, २२ शव मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा, चार शव जिल्ला अस्पताल पाल्पामा, दुई शव मिसन अस्पताल पाल्पामा, दुई शव लुम्बिनी अस्पताल पाल्पामा र ४१ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा फेला परेकामध्ये आठ शव पृथ्वीचन्द्र अस्पताल परासीमा, ११ शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा, तीन शव भीम अस्पताल भैरहवामा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ।

अरू शवलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको छ। भेटिएका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्यसमेत भइरहेको प्राधिकरणको भनाइ छ।

तपाईको प्रतिक्रिया