चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १३ गते । 
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा शनिबार दोस्रो क्वार्टरफाइनल खेल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा आज काठमाडौँको चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच खेल हुने भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार चित्लाङ फुटबल र फिदिम स्पोर्टिङ क्बलबिचको खेल दिउँसो २ः३० बजे सुरु हुने छ । यी दुई टोलीबिच हुने खेलको बिजेता सेमिफाइनल प्रवेश गर्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

आठ टोली सहभागी भएको प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पुङ विजयी भएको छ । शुक्रबार भएको उद्घाटनमा आयोजक टोली ताप्लेजङ–११ लाई २–१ गोलको अन्तरले हराउँदै जर्जियन युनाइटेड सेमिफाइनल पुगेको हो ।

यस्तै आइतबार हुने तेस्रो क्वार्टरफाइनल सातदोबाटो युथ क्लब काठमाडौँ र सलहेस युथ क्लब सिराहाबिच खेल हुने छ । आयोजक समितिका अनुसार यसवर्ष उपाधि विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ ।

आउँदो भदौ १९ गते सम्पन्न हुने प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । हरेकवर्ष लाखेजात्रा पर्वको अवसरमा खेलाइने गरिएको ऐतिहासिक फुटबल प्रतियोगिता विगत ५४ वर्ष अर्थात २०२९ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ ।

विभिन्न नाममा खेलाइँदै आएको प्रतियोगिता पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपका नामबाट प्रतियोगिता सञ्चालन हुने गरेको छ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यो वर्ष प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीलाई पुरस्कारस्वरुप मोटरसाइकल प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया