रमेश विश्वकर्मा
गुल्मी, भदौ १३ गते। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढी प्रभावित क्षेत्रका लागि एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा शनिबार बसेको कार्यसमिति बैठक तथा छलफलले तत्कालका लागि पहिलो चरणमा एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै जिल्लाका पत्रकारहरूको समेत सहभागिता रहेको थियो।
महासंघ गुल्मीका सचिव सन्तोष महताराले बाढी प्रभावित क्षेत्रमा राहत पुगोस् भन्ने उद्देश्यले पहिलो चरणमा एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। सरकारले बाढी प्रभावितका लागि सहयोग आह्वान गरिरहेको र विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा महासंघले पनि ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।
महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीका अनुसार कोभिड–१९ महामारीदेखि विभिन्न विपद्का लागि महासंघले संकलन गरेर राखेको रकमबाट उक्त सहयोग गर्न लागिएको हो। बैठकमा महासंघका निवर्तमान अध्यक्ष टोपलाल अर्याल, पूर्वअध्यक्ष जनार्दन घिमिरेलगायतको सहभागिता रहेको थियो।
यसैबीच, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै विपद्मा सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिन र प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।





