सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) भदौ ११ गते । धनकुटाको पाख्रीबासमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम अलपत्र परेको छ । आवश्यक संरचना निमार्णका लागि पर्याप्त बजेट अभावका कारण निर्माणााधीन औद्योगिक अलपत्र परेको हो ।
औद्योगिक ग्राम निर्माणका लागि ५४ करोड अनुमानित लागतबाट काम सुरु गरिएको थियो । जसमध्ये आहिलेसम्म एक करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ । औद्योगिक ग्रामका लागि पहिलो चरणमा एक करोड २५ लाख रुपौयाँमा ठेक्का लागेर काम सुरु भएको थियो ।
आर्थिक वर्ष २०७७।७८ मा एक करोड विनियोजन भएको बजेटबाट निर्माणको ठेक्का पाएको धनकुटाको थुलुङ कन्ट्रक्सन एण्ड सप्लायर्सले काम सुरु गरेको थियो ।
एउटा हलसहित चार कोठा भएको दुई तले भवन निर्माणको गरिएपनि पूर्ण रूपमा काम सम्पन्न भएको छैन । संरक्षण नहुँदा निर्माणाधीन संरचनासमेत जीर्ण हुने अवस्था बनेको स्थानीयको भनाइ छ ।
उक्त औद्योगिक ग्राम संघीय सरकारको एक स्थानीय तह, एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिएको हो ।
स्थानीयस्तरका स्रोत तथा साधन, कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी स्थानीयलाई रोजगारसमेत सिर्जना गर्न औद्योगिक ग्राम निर्माण गरिएको हो ।
साथै, स्थानीय अर्थतन्त्रमा योगदान पु¥याई उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नसमेत टेवा पुग्ने अपेक्षा गरिएको थियो । उक्त औद्योगिक ग्रामको ११७ रोपनी क्षेत्रफल रहेको छ ।
यस्तै दोस्रो चरणमा हरेलो कन्सन्टेल्सी एण्ड ट्रेडर्स प्रा.लि.ले ठेक्का लिई काम अगाडि बढाएको थियो । उक्त कन्सन्टेल्सीले ३९ लाख ६८ हजार एक सय ५३ रुपियाँमा ठेक्का लिई निर्माण सम्पन्न गरेको हो ।
२०८१ जेठ १८ गते सक्ने सम्झौतासहित कामा अगाडि बढाएपनि तोकिएको मितिभन्दा चार महिनापछि निर्माण सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भएको करिब दुई वर्षभन्द बढी भएपनि उक्त औद्योगिक ग्राम अहिलेसम्म सञ्चालनमा आउन नसकेको स्थानीय बाबुराम भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राज्यको लगानी उपयोग नहुनु दुःखद् हो । निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याए स्थानीयस्तरका कच्चा पदार्थ प्रविधिको सदुपयोग र स्थानीयले रोजगारसमेत पाउने अपेक्षा छ ।”
खासगरी औद्योगिक ग्राम निर्माणले रोजगार सिर्जना गर्न समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।




