विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष रहेका विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
रसुवा
जिल्लालगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि व्यक्तिगत रूपमा राउतले ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिइएको हो । अध्यक्ष राउतले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
विपद्को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न र राहत सामग्री उपलब्ध गराउन महासंघले सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा कोशी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायी तथा संघ संस्थाहरूलाई समेत आफ्नो स्तरबाट सक्दो भरमग्दुर सहयोग गरी राहत उपलब्ध गराउन महासंघले आह्वान गरेको छ।
रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकायले उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेका छन् । यस्तो अवस्थामा महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
हरेक विपद् र सामाजिक काममा सक्रिय राउतले यसअघि भुकम्प, कोभिड र जेन्जी आन्दोलनपछिको पुनःनिर्माणमा पनि ठूलो सहयोग गरेका थिए ।
बाढी–पहिरो पीडितका लागि राउतले गरे ११ लाख सहयोग घोषणा





