काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
आइएफआरसीले १२ लाख अमेरिकी डलर अर्थात् करिब रु. १८ करोड ९६ लाख २२ हजार सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
आइएफआरसीका अनुसार नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेका छन् । उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै प्रारम्भिक राहत सामग्री वितरणको काम गरिरहेका छन् ।
आइएफआरसीका महासचिव जगन चापागाईँले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित समुदायलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिएका छन् ।
महासचिव चापागाईँले नेपाल रेडक्रस तथा राष्ट्रिय निकायहरूसँगको समन्वयमा आवश्यकताअनुसार थप सहयोग परिचालन गर्न आइएफआरसी तयार रहेको बताएका छन् ।
उनले बाढीका कारण ठूलो मानवीय क्षति भएको, धेरै मानिस बेपत्ता भएको तथा भौतिक संरचनामा समेत व्यापक क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
आइएफआरसीले विपद्को यस कठिन अवस्थामा प्रभावित समुदायलाई निरन्तर मानवीय सहायता उपलब्ध गराउन तथा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको जनाएको छ ।
स्रोतः आइएफआरसीका महासचिव जगन चापागाईँको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक जानकारी।

तपाईको प्रतिक्रिया