चितवन।तिब्बतबाट आएको बाढीसँगै भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्। भेटिएका शव सग्लो र शरीरका अंग मात्रै पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार अनुसार तनहुँमा भेटिएका ९ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ। जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्।

भरतपुर अस्पतालको शवगृहमा शव नअटाएपछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको उनले जानकारी दिए। यसअघि तनहुँमा ९ वटा शव फेला परेका छन्। तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका ९ वटा शव भेटिएका छन्। बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उनले जानकारी दिए।

आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका विभिन्न स्थानमा शव फेला परेको तिवारीले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन्।

फेला परेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भरतपुर पठाइने उनले बताए। आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लामा उपलब्ध सबै स्रोतसाधनसहित सम्बन्धित सबै टोलीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ। सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सुरक्षा निकाय तथा सम्बन्धित टोलीलाई तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने उनले बताए।

यसैबीच भानुबाट टिमुरेतर्फ गएको चालकसहित तीन जना सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको प्रजिअ तिवारीले जनाए। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया