तनहुँ, भदौ ७ गते । तनहुँका सामुदायिक वन वनपैदावारको समुचित सदुपयोग र बिक्रीवितरण गरी उल्लेख्य आर्थिक आम्दानी गर्न सफल भएका छन् । ‘हरियो वन नेपालको धन’ भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ता समूहले काठदाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महìवपूर्ण योगदान पु-याएका छन् ।
डिभिजन वन कार्यालय तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा तनहुँका सामुदायिक वनहरूबाट १७ करोड २३ लाख ४५ हजार १२२ रुपियाँ बराबरको आर्थिक कारोबार भएको छ । यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्ययोजना अनुसार एक लाख २२ हजार ३९.९९ क्युफिट काठ र १६३.७६ चट्टा दाउरा उत्पादन तथा बिक्रीवितरण गरिएको छ ।
वनपैदावारको यस कारोबारबाट राज्यलाई ठुलो परिमाणमा राजस्वसमेत प्राप्त भएको छ । कार्यालयका अनुसार सामुदायिक वनतर्फबाट मात्रै मूल्य अभिवृद्धि कर (भ्याट) बापत एक करोड ६० लाख १६ हजार ७५१ रुपियाँ सङ्कलन भएको छ । यसै गरी प्रदेश सेवा शुल्कबापत १७ लाख ८६ हजार ७५६ रुपियाँ र रोयल्टीबापत दुई लाख ४९ हजार ७६५ रुपियाँ जम्मा भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहहरूको खुद आन्तरिक आम्दानी तथा समूह कोषमा नौ करोड १५ लाख ४० हजार ५५१ रुपियाँ दाखिला भएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार दिगो वन व्यवस्थापन र वनपैदावारको वैज्ञानिक बजारीकरणका कारण सामुदायिक वन आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् ।
वनको संरक्षणसँगै उपभोक्ता समूहहरूले संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन र पोल थिनिङ जस्ता प्राविधिक अभ्यासलाई अघि बढाउँदा काठ दाउराको उत्पादन र बिक्री वृद्धि भएको रानाभाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वनबाट भएको आम्दानीले स्थानीय तहमा रोजगारी सिर्जना गर्नुका साथै सामुदायिक विकास र गरिबी निवारणमा प्रत्यक्ष सहयोग पु¥याएको छ ।” रानाभाटका अनुसार गत वर्षको तुलनामा यस वर्ष वनपैदावारको बिक्री तथा समग्र आर्थिक कारोबारमा वृद्धि भएको छ ।
वन व्यवस्थापन तथा काठदाउरा सङ्कलनका क्रममा सामुदायिक वनक्षेत्रबाट मात्रै २१ हजार ४६० प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । सामुदायिक वनले हासिल गरेको यो आर्थिक सफलतासँगै उपभोक्ता समूहले जैविक विविधताको संरक्षण, वनडढेलो नियन्त्रण, ‘एक सामुदायिक वन, एक पोखरी निर्माण’ र फलफूल तथा जडीबुटी खेती विस्तारलाई पनि प्राथमिकतामा राखेका छन् । हाल तनहुँ जिल्लाभर ६२४ वटा सामुदायिक वन उपभोक्ता समूह सक्रीय छन् । जसबाट लगभग ६८ हजार घरधुरीका सर्वसाधारण लाभान्वित हुँदै आएका छन् ।





