विराटनगर। नेपाल विद्युत प्राधिकरण, कोशी प्रादेशिक कार्यालय, विराटनगरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भाद्र ५ गते साँझ ७ः३० बजेदेखि करिब १०ः३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा कोशी प्रदेशको विद्युतीकरणको वर्तमान अवस्था, प्रगति, चुनौती तथा भावी कार्यदिशाका विषयमा गहन छलफल भएको थियो।
कार्यक्रममा प्रादेशिक प्रमुख तथा निर्देशक कमल आचार्यले कोशी प्रदेशमा विद्युतीकरणको स्थिति, हासिल भएका उपलब्धि तथा कार्यसम्पादनका क्रममा झेल्नुपरेका चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए।
सोही अवसरमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले विद्युतीकरण गर्दा आर्थिक पक्ष र लागत अनुकूलनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले विद्युत् अवरोध घटाई ग्राहकका समस्या तथा गुनासोहरू तत्काल सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिए। साथै, पोल तथा ट्रान्सफर्मर विस्तारका कार्यमा आवश्यक समन्वय र सहकार्यका लागि राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रादेशिक कार्यालयले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै सम्पूर्ण कर्मचारीहरूलाई बधाई दिए। मन्त्री श्रेष्ठले वितरण प्रणालीको स्तरोन्नति, दक्ष कार्यसम्पादन र मुख्य कार्यसम्पादन सूचकमा आधारित जिम्मेवारी तथा सरुवा प्रणालीमा जोड दिए।
उच्च मनोबलका साथ समस्याको समाधानमुखी भएर काम गर्न निर्देशन दिँदै मन्त्री श्रेष्ठले वितरण केन्द्र प्रमुख तथा ज्यालादारी कर्मचारीहरूसँग छुट्टाछुट्टै भेट गरी उनीहरूका समस्या र वस्तुस्थितिबारे जानकारी लिएको थियो।
नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले मन्त्रालयको सहयोगलाई परिणाममुखी कार्यमा रूपान्तरण गर्दै देशको विद्युत् क्षेत्रमा उल्लेखनीय फड्को मार्ने गरी जिम्मेवार भएर काम गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू दीपक कुमार साह, रुबिना आचार्य तथा मन्त्रालयकी सचिव सरिता दवाडीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उहाँहरूले विद्युत् सेवा विस्तार र सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका थिए।





