काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले सार्वजनिक मस्यौदामाथि एक साताभित्र सुझाव दिन सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

नेपालको पुँजी बजारलाई अहिलेको इक्विटीमा केन्द्रित बजारबाट विभिन्न वित्तीय उत्पादन उपलब्ध हुने बहुउत्पादनयुक्त पुँजी बजारका रूपमा विकास गर्ने लक्ष्यअनुसार नियमावलीको मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थासँगै योग्य अन्य संगठित संस्थालाई समेत ऋणपत्र जारी गरेर दीर्घकालीन वित्तीय स्रोत जुटाउन सहज बनाउनेछ। यसबाट संस्थागत ऋणपत्र बजार विस्तार हुनुका साथै बजारको गहिराइ, तरलता र जोखिम व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

ऋणपत्र बजारलाई थप विविधिकृत र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखेर दर्ता तथा निष्काशनसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाइएको बोर्डको भनाइ छ।

मस्यौदा बोर्डको कानुन प्रबलीकरण समितिमा समेत छलफल गरी आवश्यक परिमार्जनसहित तयार गरिएको हो। अब सरोकारवाला पक्षबाट प्राप्त सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिइनेछ।

मस्यौदामाथि कुनै सुझाव वा प्रतिक्रिया भए ७ दिनभित्र बोर्डको इमेलमा पठाउन आग्रह गरेको छ। नयाँ नियमावली कार्यान्वयनमा आएपछि नेपालमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य योग्य संस्थाले समेत ऋणपत्रमार्फत दीर्घकालीन पुँजी जुटाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया