काठमाडौं। प्रहरीले काठमाडौं महानगर–१६ वनस्थलीस्थित एक डेराबाट सुनका गहना तथा नगद चोरी गरी फरार रहेका ६ जनालाई पक्राउ गरेको छ।
गत साउन ४ गते बिहान करिब साढे ७ बजे गरगहना चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चोरी गर्ने, बिक्री गर्ने र खरिद गर्ने कार्यमा संलग्न व्यक्तिलाई बहुमूल्य गहनासहित पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं–१६ बस्दै गर्दै आएका सुनचाँदी पसल सञ्चालक ५४ वर्षीय विनोद शाक्य, सुनसरी घर भई काठमाडौं–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुर घर भई बागबजार बस्ने २६ वर्षीय सुरज विक, काभ्रेपलाञ्चोक घर भई चमती बस्ने २६ वर्षीय सञ्जय तामाङ, काठमाडौं–१५ का ३५ वर्षीय रवि महर्जन र ३६ वर्षीय रविन महर्जन रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न प्रकारका मोती र सुनका माला, हसुली माला, खुकुरी कोट पिन, मंगल सूत्र, नेकलेस तथा औँठीलगायत १७ प्रकारका गहना बरामद गरेको छ। पक्राउ परेकामध्ये रविन महर्जन र सञ्जय तामाङ यसअघि साउन २० गतेको लागूपदार्थ तथा चोरी मुद्दामा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका छन्।
घिमिरे र सुरज भने अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुले घटनबारे अनुसन्धान अघि बढाएको छ।







