इटहरी, सुनसरी — अझै पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नबनाई सिटी सफारी चलाउने चालकहरू सक्रिय रहेको पाइएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले निगरानी तथा सचेतना अभियानलाई तीव्र बनाएको छ।

लाइसेन्सबिनै सिटी सफारी चलाउँदा चालक स्वयं मात्र नभई यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले चालकहरूलाई नियम पालना गर्न कडाइका साथ सचेत गराएको छ।

कार्यालयका इन्स्पेक्टर विकास थपलियाको नेतृत्वमा चालकहरूलाई सचेतना कक्षा सञ्चालन गर्दै सवारी चालक अनुमतिपत्रको आवश्यकता, ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा सडक अनुशासनबारे जानकारी गराइएको छ।

ट्राफिक प्रहरीले लाइसेन्स नबनाई सिटी सफारी नचलाउन र आवश्यक प्रक्रिया पूरा गरी मात्रै सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको छ। साथै, नियम उल्लङ्घन गर्ने चालकलाई आगामी दिनमा कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।

‘लाइसेन्सबिनै सिटी सफारी चलाउने छुट छैन’ भन्ने स्पष्ट सन्देशसहित ट्राफिक प्रहरीले अभियान अघि बढाएपछि इटहरीमा सिटी सफारी चालकहरू थप सचेत हुन थालेका छन्।

तपाईको प्रतिक्रिया