काठमाडौं । तस्करीसँग मिलेमतो गरेको आरोपमा छानबिनमा परेका सशस्त्र प्रहरीका एक दर्जनभन्दा बढी सुरक्षाकर्मीलाई सात वर्षसम्म सीमा क्षेत्रमा नखटाउने निर्णय गरिएको छ।

पूर्वी नाका काँकडभिट्टा, सुनसरी र मोरङमा तस्करसँग साँठगाँठ गरेको आशंकामा दुई एसपीसहित १८ जनामाथि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो। छानबिनपछि केहीलाई निलम्बन गरिएको छ भने केहीलाई जिम्मेवारीविहीन बनाइएको छ।

छानबिनका क्रममा घुमुवा परिचालन गरी तस्करसँग रकम उठाउने, भन्सारमा सेटिङ मिलाउने तथा गाईगोरु र लागूऔषध तस्करीमा सहयोग गरेको आरोपसमेत देखिएको स्रोतको दाबी छ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार संगठनको नीति र अनुशासनविपरीत गतिविधिमा संलग्न कर्मचारीमाथि नियमावलीअनुसार विभागीय कारबाही गरिएको हो।

मुख्यालयले सीमा क्षेत्रमा पुनः खटाउँदा संगठनमाथि प्रश्न उठ्न सक्ने भन्दै केही सुरक्षाकर्मीको अभिलेखमै सात वर्षसम्म सीमा क्षेत्रमा सरुवा नगर्ने निर्णय समेटेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया