काठमाडौं। सरकारले सुशासन, लगानीमैत्री वातावरण र वैदेशिक लगानी आकर्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा प्रचार गरिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भएको एउटा घटनाले यी नीतिगत नाराहरूको व्यावहारिक कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ। चिनियाँ जहाजमार्फत नेपाल भित्रिएका एक चिनियाँ व्यवसायीलाई भन्सार कर्मचारीले घुस माग्दै हैरान पारेको र अन्ततः उनी आफ्नो सामान त्यहीं छाडेर स्वदेश फर्किन बाध्य भएको विवरण सार्वजनिक भएको छ।
प्राप्त जानकारी अनुसार गत शुक्रबार दिउसाे चिनियाँ पासपोर्टधारी व्यवसायी चिनियाँ चाइना साउदन जहाजमार्फत काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। नेपाल भ्रमणको उनको उद्देश्य लगानी-सम्बन्धी सर्भे थियो- फूड सप्लिमेन्ट उद्योग स्थापनाको सम्भाव्यता बुझ्न नेपाली बजारमा कस्ता प्रकारका फूड सप्लिमेन्टको माग छ भन्ने अध्ययन गर्नु थियो। नेपालमा फूड सप्लिमेन्ट बजार विस्तार हुँदै गएको र यहीं फ्याक्ट्री स्थापना गर्न सकिने सम्भावनाबारे एक नेपाली सम्भावित लगानीकर्ताले जानकारी दिएपछि उनी यस सर्भेका लागि नेपाल आएका थिए। बजार अध्ययन प्रयोजनका लागि उनले आफ्नो ह्यान्डक्यारीमा करिब १४ हजार नेपाली रुपैयाँ बराबरका फूड सप्लिमेन्टका स्याम्पलहरू बोकेका थिए। यी सामान बिक्रीका लागि नभई नमुनाका रूपमा मात्र ल्याइएका थिए।
तर विमानस्थल भन्सार कार्यालयका कर्मचारीले उक्त सामान ल्याउन नपाइने जिकिर गर्दै शुक्रबार नै रोकिदिए। व्यवसायीले ती सामान बिक्री प्रयोजनका लागि नभई मार्केट सर्भेका लागि नमुनाका रूपमा मात्र ल्याएको स्पष्ट पारे। साथै सामानमा लाग्ने भन्सार महसुल तिर्न समेत तयार रहेको प्रस्ताव राखे। तर भन्सार कार्यालयका कर्मचारीले यी दुवै प्रस्ताव अस्वीकार गरे र सामान त्यहीं जफत गरी राखे।
घटनाक्रम यहीं सीमित रहेन। भन्सारमा खटिएका कर्मचारीले व्यवसायीलाई शनिबार साँझ ६ बजेपछि कार्यालय आउन बोलाए। तोकिएको समयमा व्यवसायी आफैं नभई आफ्नो भन्सार एजेन्टलाई पठाए। एजेन्ट तोकिएको समयमा कार्यालय पुगी सम्पर्क गर्दा कर्मचारीले “आज भ्याइएन, आइतबार साँझ ६ बजे नै भेटौं” भन्ने जवाफ दिए। यसरी एक कार्य दिन थप कुराइयो। आइतबार साँझ तोकिएकै समयमा भन्सार एजेन्ट पुनः विमानस्थल भन्सार कार्यालय पुगे र सम्बन्धित कर्मचारीलाई भेटी चिनियाँ नागरिकले ल्याएको सामानबारे पुनः जानकारी गराए।
यसपछि नै घटनाले गम्भीर मोड लियो। भन्सार कर्मचारीले भन्सार एजेन्टमार्फत नै व्यवसायीसमक्ष एक लाख रुपैयाँ घुस बुझाए सामान छोड्ने सन्देश पठाए। जम्मा १४ हजार रुपैयाँ बराबरको सामानका लागि एक लाख रुपैयाँ घुस माग्नु आफैंमा असंगत र अस्वाभाविक थियो। व्यवसायीले घुस दिन नसक्ने तर लाग्ने भन्सार महसुल बुझाउन तयार रहेको जवाफ पुनः एजेन्टमार्फत पठाए। यसपछि कर्मचारीले रकम घटाएर ८० हजार रुपैयाँ दिए सामान लैजान सकिने प्रस्ताव राखे। यो प्रस्ताव पनि व्यवसायीले अस्वीकार गरे।
लामो समयसम्म भएको यो दुर्व्यवहार र अनुचित माग पछि अन्ततः उक्त व्यवसायी आफ्नो ब्याग र सामान त्यहीं भन्सार कार्यालयमा छाडेर सोमबार चीनतर्फ उडे। हाल पनि उनले ल्याएको सामान सोही एयरपोर्टमा अलपत्र अवस्थामा रहेको बताइएको छ। नेपालबाट फर्किंदै गर्दा उनले आफ्ना सम्भावित नेपाली व्यावसायिक साझेदारलाई एउटा महत्त्वपूर्ण र नेपालका लागि लज्जास्पद निष्कर्ष सुनाए — नेपालमा फ्याक्ट्री स्थापना गर्नुभन्दा अफ्रिकाका मुलुकहरूमा उद्योग लगाउन बढी सहज छ। यो टिप्पणी कुनै नीतिगत जटिलता वा प्रक्रियागत झन्झटका कारण आएको होइन, प्रत्यक्ष रूपमा भन्सार कर्मचारीको घुसखोर व्यवहार र दुर्व्यवहारकै परिणामस्वरूप आएको हो। एक विदेशी लगानीकर्ताले नेपाल भन्दा अफ्रिकालाई लगानी–सहज ठान्नु आफैंमा नेपालको लगानी वातावरणमाथि गम्भीर प्रश्नचिह्न हो।
यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख रामकृष्ण पुडासैनीले आफूलाई हालसम्म जानकारी नभएको बताएका छन्। उनले भने “यदि यस्तो हर्कत कर्मचारीबाट भएको रहेछ भने यो जघन्य अपराध हो। म के भएको हो भनेर बुझ्छु र आवश्यक कानुनी कारबाही गर्छु।” उनका अनुसार व्यवसायीले ल्याएको सामान र ब्याग हाल पनि विमानस्थलमै रहेकाले घटनाको सत्यतथ्य पत्ता लगाउन कुनै अप्ठेरो नहुने बताइएको छ। यसले छानबिन गर्न चाहेमा प्रमाण उपलब्ध रहेको स्पष्ट पार्छ।
नेपालको वर्तमान आर्थिक अवस्थामा वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउनु राष्ट्रिय प्राथमिकता रहेको सरकारले पटक-पटक दोहोऱ्याइरहेको छ। यसका लागि विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय ब्रान्ड र व्यापारिक साझेदारहरूलाई नेपाल भित्र्याउने प्रयास भइरहेको र यसका लागि बाह्य जगतमा सकारात्मक सन्देश प्रवाह हुनुपर्ने आवश्यकता औंल्याइँदै आएको छ। तर यस्तै प्रकृतिका घटनाहरूले ती प्रयासहरूलाई प्रत्यक्ष असर पुर्याउने देखिन्छ। एक विदेशी लगानीकर्ताको नकारात्मक अनुभव, विशेषतः प्रवेशद्वार अर्थात् विमानस्थल भन्सारमै भएको दुर्व्यवहार, अन्तर्राष्ट्रिय व्यापारिक तथा लगानीकर्ता सञ्जालमा द्रुत गतिमा फैलिने र नेपालको लगानी छविलाई दीर्घकालीन रूपमा असर पुर्याउने जोखिम रहन्छ। एउटा सामान्य मूल्यको मार्केट सर्भे स्याम्पलका लागि समेत घुस माग्ने प्रवृत्तिले भन्सार प्रशासनभित्र रहेको संरचनागत समस्यालाई देखाउँछ।
यस घटनाले नेपाल सरकारको सुशासन र लगानीमैत्री नीतिगत भनाइ र भन्सार जस्ता सीमा नियन्त्रण गर्ने निकायको व्यावहारिक कार्यशैलीबीचको ठूलो विरोधाभास उजागर गरेको छ। सम्बन्धित निकायले तत्काल यस घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएका कर्मचारीविरुद्ध कानुन बमोजिम कारबाही अगाडि बढाउनु आवश्यक देखिन्छ। अन्यथा यस्ता घटनाहरूले नेपालमा लगानी गर्न चाहने अन्य विदेशी लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने र देशको आर्थिक कूटनीतिमाथि नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ।







