चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराबाट साउन महिनामा तीन लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात् साउनमा पाथीभराबाट उक्त भेटी रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन महिनामा कुल तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा उक्त भेटी रकम सङ्कलन भएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार गत आवको साउन महिनामा भन्दा यसवर्ष करिव ६० प्रतिशत कम मात्र भेटी सङ्कलन भएको छ । गत आवमो साउनमा १० लाल ३९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको थियो । पाथीभरा दर्शन गर्न आउने भक्तजनले चढाएको साथै दान गरेका रकमहरु समितिले भेटीको रुपमा सङ्कलन गर्ने गरेको छ ।
यसैगरी चालु आवको साउन महिनामा दुई हजार ४६९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । गत आवको साउनमा पनि दुई हजार १४६ जना भक्तजनले मात्र पाथीभरा दर्शन गरेको समितिको तथ्याङ्क रहेको छ ।
गत आवभरमा भने पाथीभराबाट चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको थियो । त्यस्तै सो आवमा दुई लाख ५२ हजार ७८ जनाले पाथीभराको दर्शन गरेका थिए । पछिल्लो समय समितिले हरेक महिना पाथीभरामा सङ्कलन हुने भेटी रकम र दर्शन गर्न आउने भक्तजनको विवरण सार्वजनिक गर्ने गरेको छ ।







