साहारा लिम्बू
फुङलिङ, साउन २८ गते ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा आठराई त्रिवेणी जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङले आयोजना गरेको वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा मूल्याङ्कनका आधारमा आठराई त्रिवेणी गाउँपालिकाले पहिलो स्थान हासिल गरेको स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारायण दुलालले जानकारी दिनुभयो । उहाँकाअनुसार स्वास्थ्य सूचकको प्रगति, तथ्याङ्कको गुणस्तर, कार्यक्रम सञ्चालन तथा समग्र उपलब्धीको मूल्याङ्कनका आधारमा गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको हो ।

वार्षिक समीक्षा कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । मूल्याङ्कनमा फुङलिङ नगरपालिका दोस्रो तथा मेरिङदेन गाउँपालिका तेस्रो स्थानमा परेका छन् ।

उत्कृष्ट स्थानीय तहलाई स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारी, सूचना अधिकारी उदयनारायण दुलाल, जनस्वास्थ्य अधिकृत रुपेशकुमार यादव तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रेवा कृष्ण थापाले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो ।

उपलब्धीप्रति प्रतिक्रिया दिँदै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले यो सफलता पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा नागरिकको साझा प्रयासको परिणाम भएको बताउनुभयो । उहाँले यस उपलब्धीले थप जिम्मेवार बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइने बताउनुभयो ।

– गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया