राधा लुइटेल
फिदिम, साउन २३ गते । पशु चौपायामा रेविजको संक्रमण देखिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विज्ञसहितको पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको संयुक्त टोली परिचालन गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलाममा कार्यरत डा. राघवेन्द्र तिवारीको नेतृत्वमा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकायका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबारदेखि काम थालेको हो ।
टोलीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डे, पशुरोग अन्वेषण प्रयोगशाला, विराटनगरका पशु चिकित्सक सरिलाल चौधरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ताप्लेजुङका डा। रोशन दाहाल र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाँचथरका निमित्त प्रमुख निरोजकुमार भट्टराईलगायत सहभागी हुनुहुन्छ ।
कार्य क्षेत्रमा खटिएको चिकित्सकको टोलीले रेविज प्रभावित फाल्गुनन्द गाउँपालिकाका वडा नं. ५, ६ र ७ मा पुगेर अध्ययन गर्नुका साथै किसान तथा जनप्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया र स्वास्थ्य सावधानीका विषयमा छलफल गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाँचथरका निमित्त प्रमुख निरोजकुमार भट्टराईले जानकारी दिनुभयो ।
टोलीले किसानका गोठ तथा कटेरामा पुगेर हालै मरेका पशु चौपायाको समेत रेविजको प्रारम्भिक परीक्षण गरेको छ । परीक्षण गरिएका तथा यसअघि मृत्यु भएका पशु चौपाया र कुकुरमा रेविज संक्रमण पुष्टि भएकाले संक्रमित क्षेत्रमा रहेका सबै पशु चौपायालाई एन्टिरेविज भ्याक्सिन लगाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
यसका लागि पशु सेवा निर्देशनालयबाट दुई हजार डोज खोप प्राप्त भइसकेकाले सोही संख्यामा पशु चौपायालाई खोप लगाउने कामसमेत सुरु गरिएको टोलीका संयोजक तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इलामका प्रमुख डा। राघवेन्द्र तिवारीले बताउनुभयो ।
रेविजका कारण फाल्गुनन्द गाउँपालिकामा मात्रै करिब २५ वटा पशु चौपाया मरिसकेका छन् भने अन्य थुप्रै पशुमा संक्रमण देखिएको छ ।
यता, फिदिम नगरपालिकामा एउटै कुकुरले एक घण्टाको अवधिमा ५५ वटा कुकुर, तीन जना मानिस तथा केही घरपालुवा जनावरलाई टोकेपछि रेविज संक्रमण फैलिने त्रास बढेको छ । फिदिम बजारमा उक्त कुकुर मरेपछि गरिएको परीक्षणमा रेविज संक्रमण पुष्टि भएको थियो ।
अस्पतालमा मानिसलाई लगाइने एन्टिरेविज भ्याक्सिन आइपुग्यो
सामुदायिक कुकुरको टोकाइपछि रेविजको जोखिम बढेको पाँचथरमा मानिसलाई लगाइने एन्टिरेविज भ्याक्सिन आइपुगेको छ ।
औषधि आपूर्ति विभागबाट आएको एक हजार डोज खोप बुझेर दाखिला गरिएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि आपूर्ति विभागले अस्पतालमा खोप पठाएको हो ।
यसअघि गत वैशाखदेखि एन्टिरेविज भ्याक्सिन अभाव थियो । त्यसका कारण कुकुरले टोकेका नागरिक निजी क्लिनिकबाट खोप खरिद गरेर लगाउन बाध्य थिए । कतिपय नागरिक विराटनगर र बिर्तामोडसम्म पुगेर खोप लगाउन बाध्य भएका थिए ।
यसपटक फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा एकैपटक धेरै पशु तथा मानिसलाई कुकुरले टोकेका छन् । कुकुरले सोझै टोकेका व्यक्तिलाई मात्र नभई संक्रमित पशु चौपायाको स्याहारसुसारमा संलग्न किसानलाई समेत खोप लगाउन सुझाइएकाले खोपको खपत बढ्ने चिकित्सकहरू बताउँछन् ।
-साभार गोरखापत्र अनलाइन







