काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ओली यही अगस्ट ३० मा चीन प्रस्थान गर्ने हुनु भएको हो ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लाग्नुभएको छ।

भ्रमणका क्रममा उहाँले विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। साथै, सेप्टेम्बर १ मा आयोजना हुने एससिओ प्लस समिटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी छ ।

प्रधानमन्त्रीसँगै उहाँकी पत्नी तथा प्रथम महिला राधिका शाक्य पनि भ्रमण टोलीमा सहभागी हुनु हुने छ। त्यस्तै, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्री पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा पनि टोलीमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण दलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका सांसद छविलाल विश्वकर्माको समेत सहभागिता रहनेछ। प्रधानमन्त्री ओलीको टोली आगामी सेप्टेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका तय गरिएको छ।

तपाईको प्रतिक्रिया