उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित बरगाछी–बाघखोर सडक सौन्दर्यकरण अभियानमा आयोजित कार्यक्रममा पुरस्कार प्राप्त गर्ने विजेताहरूले आफूले पाएको पुरस्कार रकमबाटै सामाजिक कार्यका लागि आर्थिक सहयोग गरेका छन्।
कार्यक्रममा प्रथम पुरस्कार प्राप्त गम्भीर पुरीले २० हजार रुपैयाँमध्ये ५ हजार रुपैयाँ सडक सौन्दर्यकरण अभियानलाई सहयोग गरेका छन्। त्यसैगरी, दोस्रो पुरस्कार प्राप्त शान्ता थापा बस्नेतले १५ हजार रुपैयाँमध्ये ४ हजार रुपैयाँ सडक सौन्दर्यकरण अभियान र १ हजार रुपैयाँ दुर्गा मन्दिरलाई प्रदान गरेकी छन्।
तेस्रो पुरस्कार प्राप्त नयन खड्काले १० हजार रुपैयाँमध्ये ३ हजार रुपैयाँ अभियानलाई सहयोग गरेका छन्। तीन जना पुरस्कार विजेताबाट मात्रै सडक सौन्दर्यकरण अभियानका लागि १२ हजार रुपैयाँ र दुर्गा मन्दिरका लागि १ हजार रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।
खेलकुद कार्यक्रममा चन्द्रा धिमाल, सम्पदा कुइँकेल, रीता साह, नानीकान्छा अधिकारी र मनिल बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गरेकाे आयोजनकले जानकारी दिएको छ।
त्यसैगरी, कार्यक्रममा आयोजित म्युजिकल चियर प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा दुर्गा राई प्रथम, विनिता कटवाल दोस्रो र रेणुका थापा तेस्रो भएका थिए। उनीहरूलाई पनि पुरस्कृत गरिएको थियो। उनीहरूबाट
पुरस्कार प्राप्त रकमबाटै सडक सौन्दर्यकरण अभियान र मन्दिरलाई सहयोग गर्ने कार्यले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व, सहयोग भावना र सामुदायिक एकताको सन्देश दिएको छ।
अभियानका संयोजक राजन रायमाझी र अध्यक्ष सन्देश कार्कीले पुरस्कार विजेताहरूको सहयोगप्रति आभार व्यक्त गरेका छन्। अध्यक्ष कार्कीले स्थानीयवासीको साथ र सहयोगले बरगाछी–बाघखोर सडक सौन्दर्यकरण अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताएका छन्।

तपाईको प्रतिक्रिया