काठमाडौं। नेपाल बिमा प्राधिकरण ले गत आर्थिक वर्ष २०८२/८३ मा बिमासम्बन्धी करिब ४७ प्रतिशत उजुरी फर्स्योट गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार प्राधिकरणमा गत आर्थिक वर्षमा ६०० वटा उजुरी परेका थिए।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ बाट सरिआएका उजुरी ३९४ वटा तथा गत आर्थिक वर्षमा परेका २०६ वटा थिए। समीक्षा वर्षमा प्राधिकरण केन्द्रीय कार्यालयमा १४९ वटा प्रदेश कार्यालयमा ५७ वटा उजुरी परेका थिए।

प्राधिकरणमा परेका उजुरीमध्ये समीक्षा वर्षमा २८१ वटा फर्स्योट भएका छन्, जुन कुल उजुरीको ४६.८३ प्रतिशत हो। प्राधिकरणका अनुसार फर्स्योट भएका उजुरीमध्ये २०४ वटा फैसला र ७७ वटा सहमतिमा टुंगो लागेको छ। अब ३१९ वटा उजुरी टुंगो लाग्न बाँकी छ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणबाट १३१ वटा उजुरी मात्रै फर्स्योट भएका थिए। उजुरी ५२५ वटा परेका थिए। अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले करिब २५ प्रतिशत मात्रै उजुरी टुंगो लगाउन सकेको थियो।

तपाईको प्रतिक्रिया