रमेश विश्वकर्मा
गुल्मी, साउन २२ गते। गुल्मीमा ५५ दशमलव ०८ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म यहाँका एक लाख ३५ हजार ७८३ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो। दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ४९४ जनसङ्ख्या रहेको छ।

संयोजक घिमिरेका अनुसार ६५ हजार ९३१ जना पुरुष र ६९ हजार ८५२ जना महिलाले स्वास्थ्य बिमा गराउनुभएको छ। सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो। यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ। स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ २६ हजार १०३ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको हो।

यस जिल्लाको मुसिकोट गाउँपालिकाका आठ हजार ५१५, कालीगण्डकी गाउँपालिकाका छ हजार ८८७, सत्यवती गाउँपालिकाका १६ हजार ५२५, चन्द्रकोट गाउँपालिकाका छ हजार ६५३, रुरुक्षेत्र गाउँपालिकाका १४ हजार ५४१ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ। छत्रकोट गाउँपालिकाका १२ हजार ९६२, गुल्मीदरबार गाउँपालिकाका १० हजार ९७१, इस्मा गाउँपालिकाका आठ हजार ३६१, धुर्कोट गाउँपालिकाका ११ हजार ३४३, मदाने गाउँपालिकाका चार हजार ४५३ र मालिका गाउँपालिकाका आठ हजार ७७१ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ।

महिला स्वास्थ्य स्वयंसेविका ८९१ परिवारका चार हजार ७२७ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ। सरकारले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ। ज्येष्ठ नागरिक (७० वर्ष माथिका) १८ हजार ६९३, एचआइभी संक्रमितका १६९ परिवारका ४८६ जना, कुष्ठरोगी तीन परिवारका १२ जना, ‘क’ वर्गका अपाङ्गता भएका ८१० परिवारका चार हजार ९० जना, जटिल खालको क्षयरोग लागेका छ परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिनुभएको छ।

स्वास्थ्य बिमा लागि जिल्लामा तीन जना कर्मचारी र ९४ जना दर्ता सहयोगी हुनुहुन्छ। जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन्।

तपाईको प्रतिक्रिया