काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीमा १ करोड रुपैयाँ वा त्यसभन्दा माथि बचत रकम राखेकालाई निक्षेपकर्तालाई स्वघोषणा फाराम भर्न आग्रह गरेको छ।
सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थामा ठूलो रकम बचत राखेकालाई आम्दानीको स्रोत खुलाएर अनिवार्य स्वघोषणा फाराम भर्नुपर्ने भएको हो।
समितिको असार २५ गतेको निर्णय अनुसार यो प्रक्रिया अगाडि बढाइएको सूचनामा उल्लेख छ। स्वघोषणा प्रक्रियाअन्तर्गत बचतकर्ताले आफ्नो व्यक्तिगत विवरण, सहकारीमा रहेको कुल बचत र त्यसको स्रोतबारे खुलाउनुपर्नेछ। विशेषगरी उक्त रकम व्यापार, पारिश्रमिक, घरजग्गा बिक्री वा पैतृक सम्पत्ति जस्ता वैधानिक स्रोतबाट आर्जन भएको र प्रचलित कानुनबमोजिम सम्पूर्ण कर चुक्ता गरिएको हुनुपर्ने व्यवस्था छ।
बचत रकम सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप वा अन्य कुनै फौजदारी कसुरबाट आर्जित नभएको सुनिश्चित फाराम भर्न लगाइएको हो। दाबी गरिएको रकमको पुष्टि गर्न समितिले आवश्यक ठानेका बखत बचतकर्ताले सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउनुपर्ने सूचनमा उल्लेख छ।







