काठमाडौं। सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्थ मन्त्रालयद्वारा साउन ६ गते पेस गरिएको नयाँ तलबमान १५ दिनपछि स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो।

नयाँ तलबमानअनुसार अब राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब २८ हजार ९ सय ८४ रुपैयाँ र अधिकतम ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ।

स्वीकृत तलबमान अनुसार सबैभन्दा बढी मुख्यसचिवले मासिक ९० हजार ५ सय ९४ रुपैयाँ पाउनेछन् भने नेपाली सेनाका प्रधानसेनापतिको तलब पनि मुख्यसचिवसरह नै कायम गरिएको छ।

नेपाल प्रहरीका आईजीपीको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ। सबैभन्दा तल्लो तहमा रहेका प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ निर्धारण गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साउन १ देखि लागू हुने गरी कर्मचारीको सुरु तलबमानमा १० प्रतिशत वृद्धि गर्नुका साथै थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेका थिए। यसका साथै निवृत्त (पेन्सनधारी) कर्मचारीको हकमा पनि १० प्रतिशत तलब वृद्धि हुनेछ।

तपाईको प्रतिक्रिया