सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हिन्दु र मुस्लिम समुदायका धर्मगुरु तथा स्थानीयको सहभागितामा बुधबार सद्भाव र्‍याली निकालिएको छ।

गाउँपालिकाको आयोजनामा भोक्राहा चोकबाट सुरु भएको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै फूलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागी धर्मगुरु तथा वक्ताहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै विविधताबीचको एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा हालै सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। साथै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सामाजिक सद्भाव कायम राख्दै कानुनी प्रक्रियामार्फत घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताए। उनले समुदायबीचको एकता र सहिष्णुता जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता उराँव, हरिगोविन्द यादव, धर्मगुरु लालु झा, इस्लाम समुदायका धर्मगुरु सैफुल्लाह, वडा नं. ४ का अध्यक्ष हारुन अन्सारी, गाउँपालिकाका कर्मचारी हिरा साहलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया