काठमाडौं । बालयोगेश्वर यज्ञ शिरोमणि विजय कृष्ण मूर्ती महाराजले देशमा पछिल्ला दिनमा विकसित संवेदनशील परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। एक विज्ञप्तिमार्फत महाराजले भावनामा बहेर होइन, बुद्धि, विवेक र संयमताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै एक व्यक्तिको सानो गल्तीले वर्षौँदेखि कायम रहेको सामाजिक सद्भाव क्षणभरमै भत्किन सक्ने चेतावनी दिनुभएको छ। उहाँले सनातन धर्मले अन्यायको प्रतिकार गर्न सिकाए पनि घृणा फैलाउन नशिकाउने उल्लेख गर्दै धर्मको रक्षा हिंसाबाट नभई धर्माचरणबाट हुने बताउनुभएको छ। आफ्ना भावना अभिव्यक्त गर्दा कानुन, नैतिकता र मानवताको सीमाभित्र रहेर अघि बढ्नुपर्ने उहाँको आग्रह छ।
विज्ञप्तिमा नेपाल भगवान् गौतम बुद्धले शान्ति, करुणा र अहिंसाको सन्देश दिएको भूमि तथा विविधताबीचको एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको परिचय बोकेको राष्ट्र भएकाले क्षणिक आवेग, अफवाह वा उत्तेजनाले राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिको हिस्सा नबन्न सबैलाई अनुरोध गरिएको छ। महाराजले सम्बन्धित घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गर्नुभएको छ। त्यसैगरी, नेपाल सरकारका सुरक्षा निकायलाई सम्बोधन गर्दै अत्यन्त संवेदनशील परिस्थितिमा बल प्रयोगलाई पहिलो विकल्प नबनाउन र संयमता, संवाद, धैर्यता तथा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर परिस्थितिको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ। यसबाट अमूल्य मानवीय क्षति न्यून हुने र नागरिकको राज्यप्रतिको विश्वास अझ सुदृढ बन्ने उहाँको विश्वास छ।
विज्ञप्तिमा अहिलेको समय समुदाय–समुदायबीच आरोप–प्रत्यारोप गर्ने वा द्वेष फैलाउने नभई सबै राजनीतिक दल, धार्मिक अगुवा, सामाजिक अभियन्ता, बुद्धिजीवी, युवा तथा आम नागरिक एकताबद्ध भएर शान्ति स्थापना गर्ने अभियानमा लाग्नुपर्ने उल्लेख गरिएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति पनि विशेष आग्रह गर्दै महाराजले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न, सनसनीपूर्ण शीर्षक, अपुष्ट सूचना तथा भावनालाई भड्काउने सामग्री प्रसारण वा प्रकाशन नगर्न अनुरोध गर्नुभएको छ। यस्ता गतिविधिले समाजमा थप तनाव सिर्जना गर्न सक्ने उहाँको भनाइ छ। विज्ञप्तिको अन्त्यमा उहाँले सम्पूर्ण देशवासीलाई अफवाहको पछि नलाग्न, उत्तेजनाको सिकार नबन्न र प्रतिशोधको बाटो नरोज्न आग्रह गर्दै शान्ति, न्याय र राष्ट्रिय एकताका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले भन्नुभएको छ, ‘आज हामीलाई चाहिएको क्रोध होइन, करुणा हो। द्वेष होइन, संवाद हो। प्रतिशोध होइन, न्याय हो। विभाजन होइन, राष्ट्रिय एकता हो। यही बाटोले मात्र समाज, धर्म र राष्ट्र तीनैको रक्षा गर्न सक्छ।’







