काठमाडौं। काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति छनोट गर्ने प्रक्रिया अघि बढेको छ। विश्वविद्यालयले उपकुलपति पदका लागि प्राप्त दरखास्तहरूमध्येबाट १० जना उम्मेदवारको संक्षिप्त सूची तयार पारी सार्वजनिक गरेको छ।

‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ अनुसार वर्णानुक्रममा तयार गरिएको उक्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने परेका छन्।

छनोट प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले विश्वविद्यालयले सर्वसाधारणको राय समेत लिने व्यवस्था मिलाएको छ। संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूबारे कसैको केही सुझाव वा राय भए, त्यसका लागि छुट्टै गुगल लिङ्क उपलब्ध गराइएको छ, जसमार्फत साउन २० गतेसम्म प्रतिक्रिया पठाउन सकिनेछ।

यसपछिको चरणमा छनोट भएका उम्मेदवारहरूले आ-आफ्ना योजना तथा दृष्टिकोण प्रस्तुत गर्नुपर्नेछ। साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने कार्यक्रम रहेको छ, जसका आधारमा अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया