नयाँ दिल्ली, १८ साउन । भारतले अब समुन्द्र र महासागरमा तेल तथा ग्याँसजन्य खनिज पदार्थको खोजीलाई अभियानको रूपमा चलाउने भएको छ।

 

भारतको केन्द्रीय मन्त्रिपरिषद्ले गत शुक्रबार समुद्र मन्थन अर्थात राष्ट्रिय अपतटीय अन्वेषण योजनालाई स्वीकृति प्रदान गरेसँगै भारत समुन्द्र र महासागरमा तेल तथा ग्याँसको खोजी अभियानमा जुटन लागेको हो।

पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयद्वारा प्रस्तावित यस योजनाको कार्यान्वयनका लागि आर्थिक वर्ष २०३०–३१ सम्मका लागि ८४ हजार ८४ करोड भारतीय रुपैयाँको बजेट स्वीकृतसमेत गरिएको छ। मन्त्रालयका अनुसार यो योजना भारतको  ऊर्जा सुरक्षा सुदृढ गर्न तथा स्वदेशी तेल र ग्याँस उत्पादन बढाउनका लागि एक महत्त्वपूर्ण कदम साबित हुनेछ।

 

यस विषयमा जानकारी दिँदै केन्द्रीय मन्त्री अश्विनी वैष्णवले बताए कि यस योजनाको उद्देश्य भारतको समुद्री क्षेत्रमा तेल र ग्याँसको भण्डार पत्ता लगाउनु र त्यस पछि तिनको उत्पादन गर्नु हो। भारत सरकारको अनुमान अनुसार यस पहलबाट ६० करोड अर्थात ६०० मिलियन मेट्रिक टन बराबरको नयाँ तेल र ग्याँस भण्डार पत्ता लाग्नेछ। यस योजनाले नयाँ प्रविधिहरू अपनाउनमा पनि जोड दिएको छ।

तपाईको प्रतिक्रिया