साहारा लिम्बु, ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन् । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजक लाखेजात्रा सञ्चालन समिति र बजाज कम्पनीबीच मोटरसाइकल प्रायोजन सम्बन्धी सम्झौता भएको हो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र बजाज कम्पनीका प्रमुख जर्नादन निरौलाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि बजाज कम्पनीले एक थान मोटरसाइकल उपलब्ध गराउनेछ । उक्त मोटरसाइकल लाखेजात्रा सञ्चालन समितिमार्फत प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पुरस्कारस्वरूप प्रदान गरिनेछ ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहन गर्ने उद्देश्यले सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कारको व्यवस्था गरिएको सञ्चलन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । गत वर्ष सम्पन्न तेस्रो संस्करणमा सलहेश फुटबल क्लबका छिरिङ गुरुङले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै यामाहा कम्पनीको मोटरसाइकल पुरस्कार प्राप्त गर्नुभएको थियो ।
सम्झौता कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मणिशंकर पोमू, फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा, लाखेजात्रा सञ्चालन समिति तथा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नारायण थापा र बजाज कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गोल्ड कपमा ताप्लेजुङको प्रतिनिधित्व गर्ने एक टिम सहित जम्मा ८ टिमको सहभागिता रहनेछ । गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
ताप्लेजुङ गोल्डकप समग्र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिने भएकाले यस वर्षको खेल तालिका भने पर्यटकीय क्षेत्र समुद्री सतहदेखि करिब पाँच हजार ३०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, मा रहेको स्याम्दो पोखरी मार्फत गरिने अध्यक्ष मादेनको भनाई छ । गत वर्ष भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट गरिएको थियो ।
गोल्ड कप सञ्चालनका लागि ९९ सय लाख लागत लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।







