काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् ।
पक्राउ मध्ये सागरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र कृष्ण कुमारले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । उनीहरू सम्पर्क बिहिन भए पछि दिइएकाे उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई टोखा नगरपालिका-१ बाट र कृष्ण कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।







