भउचप्रसाद यादव, काठमाडौँ, साउन १७ गते । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, लुटपाट तथा तोडफोडबाट क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण कार्य अघि बढाइएको छ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास तथा सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी भागको पुनर्निर्माण सुरु भइसकेको छ । केही क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि आवश्यक बोलपत्र आह्वान गर्ने प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।

‘जेनजी’ आन्दोलनका क्रममा सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयका भवन, शीतलनिवास, सर्वोच्च अदालत, तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ जिल्ला अदालत, भैँसेपाटीस्थित मन्त्री निवास, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालीन संसद् भवन), ललितपुर गोदावरीस्थित सभाहललगायत प्रमुख सरकारी संरचनामा ठुलो क्षति पुगेको थियो । सामान्य क्षति भएका कतिपय भवन मर्मतसम्भारपछि सञ्चालनमा आइसकेका छन् भने बढी क्षति भएका भवनको पुनर्निर्माण भइरहेको छ ।

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गणेश कर्माचार्यले क्षतिग्रस्त भवनको विवरण सङ्कलन भइसकेको र प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिग्रस्त भवनको पुनर्निर्माण सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत भइरहेको छ । विशिष्ट र अतिविशिष्ट पदाधिकारीहरूको निवास, सिंहदरबार परिसरभित्रका मन्त्रालय, संवैधानिक निकायका भवनको प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढाइएको छ । बढी क्षति पुगेका भवनको विस्तृत क्षति मूल्याङ्कन (‘डिटेल ड्यामेज एसेसमेन्ट’ डिडिए) गर्नुपर्ने भएकाले केही समय लागेको उहाँले स्पष्ट पार्नुभयो ।

कर्माचार्यले भन्नुभयो, “सिंहदरबारको मुख्य भवन तत्कालीन प्रधानमन्त्री कार्यालय र मन्त्रीपरिषद्को कार्यालयको पूर्वी भागको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । यही साउनभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ । अहिले पूर्वी भागमा रङरोगन, झ्यालढोका फेर्ने, विद्युतीकरणलगायत आन्तरिक सजावटका काम भइरहेका छन् ।” सिंहदरबारको पश्चिमी भागको पुनर्निर्माणका लागि डिजाइन सम्पन्न भइसकेको भन्दै उहाँले सिंहदरबारको पश्चिमी भाग पुराताìिवक दृष्टिकोणले समेत महìवपूर्ण भएकाले त्यसको पुनर्निर्माणको विषयमा अहिले पुरातìव विभागसँग छलफल भइरहेको जानकारी दिनुभयो । “पुरातìवविद्हरूको सुझाव अनुरूप सिंहदरबारको पुराताìिवक र ऐतिहासिक महìव नमासिने गरी पुरानै स्वरूप झल्किने गरी पुनर्निर्माण गरिने छ । यसै आर्थिक वर्षदेखि यस भागको पुनर्निर्माण सुरु हुने छ,” उहाँले भन्नुभयो ।

सरकारले क्षतिग्रस्त सिंहदरबार (तत्कालीन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय) को केही भागलाई स्मारक र सङ्ग्रहालय बनाउने योजनासमेत अगाडि सारेको छ । प्रधानमन्त्री कार्यालयको केही खण्डलाई नभत्काई, आन्दोलनको ऐतिहासिक सम्झना र सचेतनाका लागि ‘स्मारक सङ्ग्रहालय’ (मेमोरियल म्युजियम) का रूपमा संरक्षण गर्ने घोषणा गरिएको छ ।

कर्माचार्यका अनुसार अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालयको भवनको मर्मत तथा पुनर्निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन गृह मन्त्रालय भवनको पुनर्निर्माणका लागि अहिलेसम्म बोलपत्रसमेत आह्वान हुन सकेको छैन । गृह मन्त्रालय भवनको पुनर्निर्माणका लागि डिजाइन सम्पन्न भइसकेको छ ।

सुरु हुन सकेन शीतलनिवास पुनर्निर्माण

एक वर्ष पुग्न लाग्दासमेत राष्ट्रपति कार्यालय शीतलनिवासको क्षतिग्रस्त मुख्य भवनको पुनर्निर्माण सुरु हुन सकेको छैन । मुख्य भवन लागत अनुमानकै चरणमा छ । कम क्षति पुगेका साना साना ब्लक र एउटा सभाहलको पुनर्निर्माण अन्तिम चरणमा रहेको कर्माचार्यले जानकारी दिनुभयो । क्षतिग्रस्त मुख्य भवनको पुनर्निर्माणको लागि अहिले लागत अनुमान तयार भइरहेको छ । लागत अनुमान तयार भई स्वीकृत भइसकेपछि पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बनाउनुपर्ने

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भत्काएर नयाँ नै बनाउनुपर्ने अवस्था देखिएको छ । आगजनीले पूर्ण रूपमा क्षति भएकाले सम्मेलन केन्द्रको पुनर्निर्माण वा प्रबलीकरण (रेट्रोफिटिङ) गर्न नसकिने देखिएको छ । सहरी विकास तथा भवन विभागका उपमहानिर्देशक प्रकाश अर्यालले विस्तृत क्षति मूल्याङ्कन (‘डिटेल ड्यामेज एसेसमेन्ट’ डिडिए) ले उक्त सम्मेलन केन्द्रलाई भत्काएर नयाँ नै बनाउनुपर्ने देखाएको जानकारी दिनुभयो । उहाँका अनुसार यस सम्मेलन केन्द्रलाई नयाँ डिजाइन वा पहिलेकै डिजाइनमा निर्माण गर्ने विषयमा अहिले छलफल भइरहेको छ ।

अर्यालका अनुसार क्षतिग्रस्त ललितपुरको गोदावरीस्थित सभाहलको पुनर्निर्माणका लागि डिजाइन तयार भई बोलपत्रको तयारी भइरहेको छ । यो सभाहलको पुनर्निर्माणमा करिब पचास करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

मन्त्री निवास पुनर्निर्माण अन्तिम चरणमा

जेनजी प्रदर्शनका व्रmममा क्षतिग्रस्त ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रोनिका जोशीले यसै महिनाभित्र मन्त्री निवासको पुनर्निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । मन्त्री निवासको पुनर्निर्माण ३८ करोड ६० लाख रुपियाँको लागतमा भइरहेको छ ।

जोशीले भन्नुभयो, “मन्त्री निवास प्राङ्गणमा रहेका २७ वटा भवन अहिले पुनर्निर्माण भइरहेको छ । यी भवनहरूको सहज किसिमले पुनर्निर्माण गर्न तीन चरणमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ । पहिलो चरण अन्तर्गत ११ वटा र दोस्रो चरण अन्तर्गत १६ वटा भवन पुनर्निर्माणका लागि दोस्रो ठेक्का सम्झौता गरिएको हो । पुनर्निर्माण गरिने भवनहरूको भित्री काम (इन्टेरियर) का लागि तेस्रो सम्झौता गरिएको हो । पहिलो चरणको ठेक्का अन्तर्गतको काम साउनभित्रै सकिने छ । जुन भवनको पुनर्निर्माण पहिला सकिन्छ,

त्यसको भित्री काम (इन्टेरियर) सकेर मन्त्रीहरूलाई हस्तान्तरण गर्दै जाने छ । इन्टेरियरका लागि गरिएको ठेक्काको म्याद असोज मसान्तसम्म छ ।”

-गोरखापत्र अनलाईनबाट साभार

तपाईको प्रतिक्रिया