काठमाडौं। धनुषा जिल्ला प्रशासन कार्यालयले साउन १४ देखि जारी कर्फ्युलाई आज ५ घन्टाका लागि आंशिक रूपमा खुकुलो पारेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु खुकुलो पारिएको हो। ५ घन्टे अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु खरिद गर्न पाउनेछन्।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र आवश्यक सामान खरिद गरी कर्फ्यु पालना गर्नुहुन सबैमा जानकारी गराइन्छ।’
कर्फ्युको समय अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी साधन र फोहोर बोक्ने गाडीजस्ता अत्यावश्यक सेवा सुचारु रहनेछन्।







