सुधा देव
भारदह (सप्तरी), साउन १५ गते । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा शुक्रबार सद्भाव र्याली निकालेको छ । समाजमा बसोबास गर्ने सबै जना एक आपसमा मिलेर बस्न,धार्मिक तथा जातीय सद्भाव खलल पुग्ने कुनै पनि काम नगर्न सन्देश दिने उद्देश्यले र्याली निकालिएको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा ३ कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर भइरहेको आपसी मतभेद र विभिन्न घटनाहरूलाई ध्यानमा राखेर र्याली निकालिएको स्थान युवा दिपेन्द्र चौधरीले बताउनुभयो ।
‘सामाजिक सद्भाव कायम गरौं,आपसी भाइचारा सम्बन्ध स्थापित गरौँ, एकअर्कालाई सम्मान गराैं’ भन्ने नारा लगाउँदै हिन्दु ,मुस्लिम समुदाय स्थानीय राजनीतिक दल जनप्रतिनिधि लगायतको सहभागिता रहेको र्याली नगरको परिक्रमा गरेको थियो ।
र्यालीमा सहभागी हुनुभएको सप्तरी क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य सिताराम साहले आपसी विवादलाई अन्त्य गरेर सबै पक्षलाई सद्भाव कायम गर्न सन्देश दिन सद्भाव र्याली निकालेको बताउनुभयो ।
देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा सद्भाव कायम राख्न सबै पक्ष मिलेर निकालिएको सामुहिक र्यालिमा खडक नगरपालिकाका पूर्व प्रमुख हेमायु हक, वडा ७ का वडा अध्यक्ष राकेश साह, वडा ७ का वडा अध्यक्ष मो.कलाउद्दिन लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
यसैबीच जिल्लाका सुरूङ्गा नगरपालिका नगरप्रमुख गीता चौधरी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायत स्थानीय तहका जनप्रतिनिधिले स्थानीय स्तरमा शान्ति सुरक्षा र मेलमिलाप कायम राख्नका लागि सामाजिक संजाल मार्फत आआफ्ना वक्तव्य दिँदै आउनुभएको छ ।
-गोरखापत्र अनलाइनको सहयोगमा







