झापा : बिर्तामोड नगरपालिका–५ स्थित सतानु पैनीमा रहेका तीन वटा काठका टहरामा आज बिहान आगलागी भएको छ। बिहान ४ः१० बजे पुरानो भद्रपुर रोडछेउ रहेका गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीका काठका टहरामा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि सुरक्षा बेस शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको नेतृत्वमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा १० जना र नेपाली सेनाको श्री अरिदमन गण चारआलीबाट सेनानी किशोरकुमार खड्काको नेतृत्वमा २५ जना परिचालन गरिएको थियो। त्यसैगरी बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका तीन वटा दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान ५ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।







