काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने छ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।”

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुन अनुसार कारबाही हुने स्पष्ट पार्नुभयो । सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने प्रधानमन्त्री शाहको भनाइ थियो । उहाँले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभएको छ, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।”

सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

दोषीउपर कडा कारबाही : लामिछाने 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कप्तानगन्ज घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाहीको माग गर्नुभएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै उहाँले सुनसरीलगायत पूर्वी जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सर्वदलीय बैठक आह्वान 

यसैबिच रास्वपाका सभापति लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न बुधबार बिहान ८:०० बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान उक्त बैठक संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो । बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ ।

उच्च संयमता अपनाउन अपिल

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा साउन १० गते भएको घटना र सोपश्चात् पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै विद्यमान परिस्थितिमा शान्ति, सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । “यस परिस्थितिमा नेपाल सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ–संस्था, आमसञ्चार माध्यम र जनसमुदायमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया