काठमाडौँ, साउन १२ गते । सीसीआरसीले एसआरसी प्लस टु अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मङ्गलबार जित हात पारेको छ ।

कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले ओमेगालाई ८०–४७ ले सहजै हरायो । सीसीआरका सवाज खानले २२ स्कोर गर्नुभयो ।

पहिलो क्वाटरमा २४–७ को अग्रता लिएको सीसीआरसीले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमश: १८–१६, २३–१४, १५–१० स्कोर गर्‍यो ।

एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगतामा पुष्पसदन र मनास्लु विजयी भयो । दुवैले गोल्डेनगेटलाई हरायो ।

पुष्पसदनले गोल्डेनगेट ‘ए’ लाई ३४–३० ले पाखा लगायो । पुष्पसदनका सिमोन रमजालीले १० अङ्क जोड्नुभयो । पुष्पसदनको लगातार दोश्रो जित हो ।

सुरुको क्वाटर ६–६ को बराबरीमा टुङ्गिएको थियो । बाँकीमा पुष्पसदन अगाडि रह्यो । पुष्पसदनले दोश्रोमा ९–७, तेश्रोमा ११–१० र चौथोमा ८–७ को प्रदर्शन गर्‍यो । मनास्लुले गोल्डेनगेट ‘बी’ माथि ८६–३० को आरामदायी जित दर्ता गर्‍यो । मनास्लुका शुभ खड्काले १८ अङ्क जोड्नुभयो ।

चारै क्वाटरमा अग्रता लिएको मनास्लुले क्रमश: २७–६, १७–५, १९–१७। २३–२ स्कोर गर्‍यो । तीनै खेलका सर्वाधिक स्कोरकर्तात्रय सवाज, सिमोन र शुभ ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया