विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले यस्तो संवेदनशील परिस्थितिमा नागरिकलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई थप मजबुत बनाउन आह्वान गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै उनले घटनालाई उत्तेजित बनाउने गतिविधिबाट टाढा रही सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सबै सरोकारवालासँग आग्रह गरेका छन्।

विज्ञप्तिमा कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको उल्लेख गर्दै आवश्यक समन्वय र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाइएको छ।

मुख्यमन्त्री कार्कीले नेपाल सरकारलाई घटनापछि प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था तत्काल सुदृढ गरी नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया