विराटनगर/ भारतबाट चोरी–तस्करी गरी नेपाल भित्र्याइएका खान अयोग्य माछा, अण्डा, मासु र कुखुरालगायत खाद्यजन्य वस्तु आर्थिक वर्ष २०८२÷८३ मा विराटनगरस्थित पशु क्वारेन्टिन कार्यालयले नष्ट गरेको छ।
कार्यालयका प्रमुख विदुर प्रसाद गौतमका अनुसार गत आर्थिक वर्षमा २ हजार ४१० केजी भारतीय माछा, ७ सय केजी सिध्रा माछा, १२४ क्रेट सेतो अण्डा, १६५ केजी काँचो मासु र ६५ केजी बाख्राको काँचो छाला नष्ट गरिएको हो। त्यसैगरी तस्करी गरी ल्याइएका १ हजार ४४२ वटा ब्रोइलर कुखुरा (१ हजार ९९९ केजी) र १२ वटा लोकल कुखुरा पनि नष्ट गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएका ४६ वटा गाई, गोरु र बाछाको स्वास्थ्य परीक्षणपछि सिरहा र भन्टाबारीमा लिलामी गरिएको छ। यसै अवधिमा १७६ वटा सुँगुर, ८ वटा भैँसी तथा पाडा र २८ वटा खसीको स्वास्थ्य परीक्षण गरी लिलामी प्रक्रिया सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि कार्यालयले निगरानी बढाए पनि जनशक्ति, आधुनिक उपकरण र प्रयोगशालाको अभावले प्रभावकारी कार्यसम्पादनमा चुनौती रहेको प्रमुख गौतमले बताए। उनका अनुसार कार्यालयले १६ जिल्लाको कार्यक्षेत्र सम्हाल्दै आएको छ। पर्याप्त प्रयोगशाला नहुँदा धेरैजसो अवस्थामा दृश्य निरीक्षणकै आधारमा परीक्षण गर्नुपर्ने र नमुना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था रहेको उनले बताए।

उनले विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) र मातहतका कार्यालयमा अधिकृतको अभाव रहेको जानकारी दिए। भन्टाबारी कार्यालयका अधिकृत अध्ययन बिदामा रहेको र सिरहा कार्यालयमा लामो समयदेखि अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भइरहेको उनको भनाइ छ।

यद्यपि, कार्यालयको पूर्वाधार विस्तारको काम अघि बढेको छ। चालु आर्थिक वर्षमा करिब ४ करोड ९० लाख रुपैयाँ लागतमा तीनतले भवन निर्माणका लागि बजेट विनियोजन भएको छ। भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको तथा पुरानो भवन भत्काउने काम सुरु भएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया