विराटनगर- कोलकाताको बन्दरगाहबाट पहिलोपटक कार्गो रेल विराटनगर आएसँगै दुवै राष्ट्रका उद्योगी तथा प्रतिनिधिहरूबीच छलफल भएको छ।

विराटनगर-१८ स्थित एकीकृत जाँच चौकी (आइसीपी) मा आयोजित कार्गो रेल सेवाको औपचारिक उद्घाटनका क्रममा यो छलफल भएको हो।

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कार्गो रेलको औपचारिक सुरुवातसँगै पूर्वी क्षेत्रका उद्योग तथा कलकारखानाको उत्पादनमा वृद्धि हुने अपेक्षा व्यक्त गरे।

उनले ट्रान्स नेपाल कम्पनीको अथक प्रयास र नेपाली उद्योगी-व्यवसायीको सहयोगमा यो सम्भव भएको बताए। कोलकाता बन्दरगाहबाट सामान ढुवानी गर्न सकिने भए पनि लामो दूरीका कारण एकैपटक धेरै सामान ल्याउन ध्यान पुग्न नसकेको उनले उल्लेख गरे।

कार्यक्रममा भारतीय प्रतिनिधिले भारत र नेपालबीचको सुमधुर सम्बन्धलाई कायम राख्दै आर्थिक क्षेत्रमा पनि यस कार्गो रेल सेवामार्फत सहयोग निरन्तर रहने बताए।

पहिलोपटक नेपाल आइपुगेको कार्गो रेल सञ्चालनले दुवै राष्ट्रलाई ठूलो फाइदा पुग्ने विश्वास उनले व्यक्त गरे। मङ्गलबार विराटनगर आइपुगेका ४० वटा कन्टेनरहरू औपचारिक रूपमा रेलबाट आइसीपीमा अनलोड गरिएका थिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले तेस्रो मुलुकबाट मगाइएको सामान कोलकाताबाट कार्गो रेलमार्ग भई सुरक्षित रूपमा आइपुग्दा मुलुकभर सकारात्मक सन्देश गएको बताए।

आइसीपीमा अनलोड हुनासाथ नजिकै रहेका उद्योगहरूमा सामान पुर्‍याउन सहज हुने बताउँदै अध्यक्ष राउतले अनलोडिङ प्रक्रियालाई झन्झटरहित बनाउनुपर्नेमा जोड दिए।

यसको अन्तिम गन्तव्य कटहरी गाउँपालिकासम्म रहे पनि त्यहाँसम्मको काम सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले सरकारसँग सो स्थानसम्म रेलको अन्तिम बिन्दु र व्यवस्थित आइसीपी बनाउने कार्यलाई पूर्णता दिन माग गरे।

त्यसैगरी उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले आउने दिनमा कार्गो रेलको सेवाले उद्योगी-व्यवसायीलाई ठूलो सहजता थप्ने बताए। मोरङ र सुनसरीका लागि कार्गो रेल एउटा कोशेढुङ्गाका रूपमा रहेको उल्लेख गर्दै उनले यसलाई नियमित बनाउनुपर्नेमा जोड दिए।

विराटनगर भन्सार सङ्घका अध्यक्ष देवकी शर्माले बजारमा यसको सम्पर्क कार्यालय स्थापना गरिनुपर्ने बताए। कार्गो रेलबाट सरसामान ढुवानी गर्दा सस्तो र छिटो हुन्छ भन्नेबारे जानकारी गराउन र सचेत पार्न सम्पर्क कार्यालय आवश्यक रहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया