भैरहवा, साउन ४ गते । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भैरहवा भन्सार कार्यालयलाई तोकिएको एक खर्ब १३ अर्ब ६७ करोड रुपियाँ वार्षिक लक्ष्यको ९२.४ प्रतिशत अर्थात् एक खर्ब पाँच अर्ब दुई करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

लक्ष्य शतप्रतिशत पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका संरचनागत समस्याका बिच हासिल भएको यो उपलब्धिलाई भन्सार प्रशासनले सकारात्मक रूपमा मूल्याङ्कन गरेको छ ।

अघिल्लो आव २०८१/८२ मा भैरहवा भन्सारले ९२ अर्ब ३१ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा गत वर्षको सङ्कलन १३.२ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसले आयात कारोबारमा आएको विस्तारसँगै राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भएको देखाउँछ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार नाकामा लामो समयदेखि देखिँदै आएको ट्राफिक जाम, ओभरलोडसम्बन्धी जरिबाना तथा अन्य व्यवस्थापकीय समस्याका कारण धेरै मालवाहक सवारीसाधनले वैकल्पिक नाका प्रयोग गर्न थालेका थिए । त्यसले आयात कारोबारमा प्रत्यक्ष असर पर्ने अपेक्षा गरिए पनि कार्यालयले उल्लेखनीय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

राजस्व सङ्कलनमा सबैभन्दा ठुलो योगदान सवारीसाधन (अटोमोबाइल) आयातको छ । कुल राजस्वमध्ये करिब २५ प्रतिशत हिस्सा सवारीसाधन आयातबाट आएको छ । दोस्रो स्थानमा स्पन्ज आइरनसहित फलामजन्य कच्चा पदार्थ रहेको छ, जसको योगदान करिब १३ प्रतिशत छ । त्यस्तै पेट्रोलियम पदार्थ आयातबाट करिब आठ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

भन्सार विभागले आव २०८२/८३ मा देशभरबाट पाँच खर्ब ८८ अर्ब रुपियाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । त्यसमध्ये भैरहवा भन्सारलाई मात्र १९.३ प्रतिशत, अर्थात् एक खर्ब १३ अर्ब ६७ करोड रुपियाँ सङ्कलन गर्ने जिम्मेवारी दिइएको थियो । चालु आव २०८३/८४ का लागि भने भन्सार विभागले देशभरबाट छ खर्ब २८ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ । यसअन्तर्गत भैरहवा भन्सार कार्यालयलाई एक खर्ब २२ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने जिम्मेवारी दिइएको छ, जुन विभागको कुल लक्ष्यको १९.४ प्रतिशत हो ।

राजस्व लक्ष्य थप बढाइएकाले भैरहवा भन्सारले आगामी वर्ष चोरी तस्करी नियन्त्रण, नाकाको व्यवस्थापन सुधार, ट्राफिक जाम न्यूनीकरण तथा आयात प्रक्रियालाई थप सहज बनाउनेतर्फ प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया