काठमाडौँ : बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्यो।
स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले २२औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो।
डिबक्सभित्र स्पेनका लामिन यामाललाई फ्रान्सका लुकास डिग्नेले फल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई मिकेल ओयार्जाबालले सहज रूपमा गोलमा परिणत गरे।
दोस्रो हाफमा थप आक्रामक बनेको स्पेनले ५८औँ मिनेटमा दोस्रो गोल गर्यो। डानी ओल्मोको पासमा पेड्रो पोरोले डिबक्सभित्र तीन रक्षकलाई छल्दै उत्कृष्ट गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका पेड्रो पोरो ‘प्लेयर अफ द म्याच’ घोषित भए।
दोस्रो गोलपछि दबाबमा परेको फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। बल पोसेसनमा समेत कमजोर देखिएको फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने अवसरबाट वञ्चित भयो।
यस जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो। सन् २०१० को विश्वविजेता स्पेनले उपाधिका लागि साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी।







