काठमाडौं– मर्स्याङ्दी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी प्रसारणलाइनको पहिलो सर्किट सञ्चालनमा आएको छ । यससँगै शनिबारदेखि उक्त सर्किटमार्फत करिब ८० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । यसअघि २५ असार राति नो–लोडमा २२० केभी चार्ज गरी सफलतापूर्वक परीक्षण गरिएको थियो ।
मस्र्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न विकास गरिएको राष्ट्रिय महत्वको आयोजना हो । आयोजनाअन्तर्गत मनाङको धारापानीदेखि लमजुङको खुदी, उदीपुर हुँदै तनहुँको न्यू मस्र्याङ्दी (मार्कीचोक) सबस्टेशन र त्यहाँबाट न्यू भरतपुर सबस्टेशनसम्म २२० केभी प्रसारण पूर्वाधार निर्माण भइरहेको छ । आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १ हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने क्षमता रहनेछ ।
मार्कीचोक–भरतपुर प्रसारणलाइन निर्माणमा स्थानीय अवरोध, भौगोलिक जटिलता, वन क्षेत्रभित्र रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा अन्य प्राविधिक चुनौतीका कारण करिब सात वर्षसम्म निर्माण कार्य प्रभावित भएको थियो । साथै लमजुङ क्षेत्रमा देखिएको स्थानीय अवरोध करिब १२ वर्षपछि समाधान भएपछि आयोजनाले पुनः गति लिएको थियो ।
मार्कीचोक–भरतपुर प्रसारण लाइनको पहिलो सर्किट चार्ज भएसँगै न्यू मस्र्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग प्रभावकारी रूपमा जोडिएको छ । अब मस्र्याङ्दी तथा दोर्दी नदी बेसिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबर लगायत राष्ट्रिय २२० केभी तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने भएको छ । यसबाट पूर्व–पश्चिम राष्ट्रिय प्रसारण सञ्जाल थप सुदृढ हुनुका साथै विद्युत् प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता तथा प्रसारण क्षमतामा उल्लेखनीय सुधार आएको छ ।
हाल उक्त प्रसारण लाइनमार्फत करिब ८० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ । यसबाट विशेषगरी दोर्दी नदी बेसिनका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर जान नदिई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न सम्भव भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले बर्खायाममा मस्र्याङ्दी करिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए । यसअघि प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपर्ने जलविद्युत आयोजनाहरूलाई पनि अब राहत पुग्ने उनको भनाइ छ । सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने उल्लेख गर्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षा सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरे ।
आयोजना अन्तर्गत दोस्रो सर्किट तथा बाँकी संरचनाको निर्माण सम्पन्न भएपछि मस्र्याङ्दी करिडोरको पूर्ण क्षमता उपयोग गर्दै अझ ठूलो परिमाणमा विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न सकिनेछ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा आउनु नेपालको प्रसारण पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले स्वदेशी जलविद्युतको अधिकतम उपयोग, राष्ट्रिय प्रसारण प्रणालीको सुदृढीकरण, ऊर्जा आत्मनिर्भरता तथा भविष्यमा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको छ ।
ऊर्जा मन्त्रालयले आयोजनालाई उच्च प्राथमिकतामा राख्दै निर्माणमा देखिएका अवरोध हटाउन निरन्तर पहल गरेको थियो । मन्त्री श्रेष्ठले आयोजना स्थलको निरीक्षण गरी निर्माण प्रगतिबारे समीक्षा गरेका थिए । साथै सम्बन्धित निकायलाई निर्माण कार्य तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका थिए । स्थानीय अवरोध, अन्तरनिकाय समन्वय तथा अन्य प्रशासनिक चुनौती समाधानका लागि मन्त्रालयबाट आवश्यक नीतिगत समन्वय र सहजीकरण गरिएको थियो । मन्त्रालयको सक्रिय पहल र समन्वयका कारण लामो समयदेखि प्रभावित आयोजना निर्माणले उल्लेखनीय गति लिई मार्कीचोक–भरतपुर प्रसारण लाइनको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयोजनाको नियमित अनुगमन गर्दै निर्माणमा देखिएका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरेका थिए । आयोजनाका प्रमुख नारायण रेग्मीको नेतृत्वमा आयोजना व्यवस्थापन टोलीले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय समुदायसँग प्रभावकारी समन्वय गर्दै निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्याएको हो । तनहुँ तथा लमजुङ जिल्ला प्रशासन कार्यालयले स्थानीय अवरोध समाधान तथा आवश्यक सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्माण कार्य सम्पन्न गर्न स्वतन्त्र विद्युत उत्पादकहरूको समेत आवश्यक सहयोग र समन्वय प्राप्त भएको थियो ।
– कारोबार दैनिकको सहयोगमा






