बागलुङ। बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता उपहारस्वरूप खोलिदिने घोषण गरेको छ।
आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत पाँच हजार प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो।
हालैको नगरसभाबाट उक्त निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैंक खाता खोलिने बताए।
हालसम्म ३०० जना छोरीका नाममा पाँच हजारका दरले १५ लाख जम्मा गरिएको छ। खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन।






