विराटनगर – सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापाले शुक्रबार मोरङका विभिन्न सीमा क्षेत्रमा पुगेर सीमावासीसँग अन्तरक्रिया गर्नुका साथै सुरक्षा र विपद् प्रतिकार्यको अवस्थाबारे निरीक्षण गरेका छन्।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती नजिक आयोजना गरिएको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा स्थानीय बासिन्दा तथा भद्रभलादमीसँग सीमा सुरक्षासम्बन्धी समस्या, गुनासा र समाधानका उपायबारे छलफल गरिएको थियो। कार्यक्रममा सीमावासीका सुझाव तथा जिज्ञासा सुन्नुका साथै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
डीआईजी थापासँग सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेक्वा मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी, सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्का, बोर्डर आउट पोस्ट (बीओपी) दरैयाका सशस्त्र प्रहरी निरीक्षक शंकर कोइरालालगायतको टोली सहभागी थियो।
त्यसपछि टोलीले जहदा गाउँपालिका–भुटाहा, इस्लामपुर क्षेत्रमा पनि स्थानीयवासीसँग ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरेको थियो।
निरीक्षणका क्रममा डीआईजी थापाले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरीका सुरक्षा पोस्टहरूको अनुगमन गर्दै सुरक्षाकर्मीलाई समयानुकूल निर्देशन दिएका थिए।
यसैक्रममा विराटनगर महानगरपालिका–१२ बखरीस्थित मनसुन प्रतिकार्य सुरक्षा बेसमा पुगेर विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएका सामग्रीको समेत अवलोकन गरेका उनले वर्षायाममा जुनसुकै बेला आउन सक्ने प्राकृतिक विपद्को सामना गर्न आवश्यक जनशक्ति र सामग्रीसहित उच्च तयारीमा रहन कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।







