हुम्ला – कर्णाली नदीमा खसरे बेपत्ता भएको फोर्स गाडीका चालक तुलाराम सुवेदीको शव ९ दिनपछि फेला परेको छ। १८ असारमा सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७, साङ्गेटाडाबाट कर्णाली नदीमा खसेको थियो।
शनिवार सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जबुगडास्थित लामगडामा कर्णाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान उनका बुबा डण्डपाणि सुवेदीले गरेका हुन्। तुलारामको शव फेला परेसँगै उक्त दुर्घटनामा हालसम्म चार जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार गाडीका सह–चालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन्। गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त गाडी तथा अन्य बेपत्ता व्यक्तिहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले कर्णाली नदी क्षेत्रमा निरन्तर जारी राखेका छन्।







