विराटनगर, । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कोशी प्रदेशको अभियानअन्तर्गत विद्यमान कानुनको पालना तथा कार्यान्वयनमा देखिएका जटिलता र कानुन व्यवसायीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा शुक्रबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
संगठनका कोशी प्रदेश अध्यक्ष महेन्द्रप्रसाद वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संगठनका केन्द्रीय सदस्य वीरेन्द्र बस्नेत, हरिबहादुर बराल, राधा उराउ तथा वरिष्ठ अधिवक्ता द्वय सुरेशलाल श्रेष्ठ र खगेन्द्र श्रेष्ठलगायतले आ–आफ्ना धारणा राखेका थिए।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष पदम लिम्बूले कानुनको प्रभावकारी कार्यान्वयनका लागि कानुन व्यवसायीको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको बताए। उनले विधिको शासन सुदृढ बनाउन कानुन व्यवसायी, न्यायिक निकाय र सरोकारवाला पक्षबीच समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे।
सोही अवसरमा संगठनको कोशी प्रदेश समितिमा स्वीकार बस्नेतलाई मनोनित गरी पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो। साथै, संगठनको केन्द्रीय समितिले वीरेन्द्र बस्नेतलाई मोरङ जिल्लाको इञ्चार्जको जिम्मेवारी प्रदान गरेको जानकारी गराइएको थियो। मोरङ जिल्ला समितिले उनलाई स्वागतसमेत गरेको थियो।
कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष वस्तीले संगठनले चाँडै प्रदेश भेला आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए। उनका अनुसार उक्त भेलामा देशको समसामयिक कानुनी जटिलता, संविधान संशोधनका विषय तथा समसामयिक कानुनी मुद्दामाथि छलफल गरिनुका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिनेछ।

तपाईको प्रतिक्रिया