रौतहट २६ असार। भारत बिहारको पूर्वी चम्पारण ९मोतिहारी० मा प्रहरीको कडा कारबाहीपछि अपराधीहरूमा त्रास फैलिएको छ।

 

जिल्ला प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा जुन महिनाभर सञ्चालन गरिएको विशेष अभियानमा २ हजार ३६ जना अपराधी पक्राउ परेका छन् भने प्रहरीको बढ्दो दबाबका कारण २ हजार ४०८ जना अभियुक्तले स्वेच्छाले अदालतमा आत्मसमर्पण गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोतिहारीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी स्वर्ण प्रभातले अभियानको उपलब्धि सार्वजनिक गर्दै निरन्तर भइरहेको कारबाहीका कारण जेलमा कैदी राख्ने ठाउँसमेत अभाव हुन थालेको बताए। पक्राउ परेकामध्ये १ हजार ३४९ जनालाई न्यायिक हिरासतमा जेल पठाइएको छ भने ११ जना इनामी अपराधी पनि पक्राउ परेका छन्।

बिहारमा पूर्ण मदिराबन्दी लागू भए पनि अवैध मदिरा तस्करी चुनौतीकै रूपमा रहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले जुन महिनाभर व्यापक अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा २० लाख ३६ हजार १२७ लिटर अवैध मदिरा बरामद गरिएको छ। मदिरा तस्करीमा संलग्न २३७ जनालाई पक्राउ गरिएको छ भने मदिरा सेवन गरेको आरोपमा ३६२ जनामाथि पनि कारबाही गरिएको छ।

यस अभियानको विशेष उपलब्धिका रूपमा एक वर्षदेखि फरार रहेका मुख्य मदिरा कारोबारी दीपक कुमारलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागूऔषधविरुद्ध पनि कडा अभियान

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ५४९ किलोग्राम गाँजा, १२ किलोग्राम अफिम र ५७ किलोग्राम डोडा ९अफिमको दाना० बरामद गरेको जनाएको छ।

सघन सवारी चेकजाँचका क्रममा ७ हजार ७२९ वटा सवारीसाधनमाथि कारबाही गर्दै १ करोड १० लाख भारतीय रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ।

साइबर अपराध नियन्त्रणतर्फ प्रहरीले पीडितहरूको ७५ लाख ९२ हजार भारतीय रुपैयाँ फ्रिज गराउन सफल भएको छ। ‘अपरेशन मुस्कान’ अन्तर्गत ३२ वटा हराएका मोबाइल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने १०९ जना हराएका वा अपहृत व्यक्तिलाई सकुशल उद्धार गरिएको छ। साथै ९१ वटा मोटरसाइकल र १४ वटा चारपाङ्ग्रे सवारीसाधन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

एसपी स्वर्ण प्रभातले अपराध नियन्त्रणसँगै प्रहरी संगठनभित्र हुने भ्रष्टाचारविरुद्ध पनि अभियान जारी रहेको बताए। उनका अनुसार भ्रष्टाचारमा संलग्न दर्जनौँ प्रहरी अधिकारी र चौकीदारलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।

मोतिहारी प्रहरीको जुन महिनाको तथ्यांकले अपराध नियन्त्रणमा आक्रामक रणनीति अपनाइएको देखाउँछ। ठूलो संख्यामा अपराधीले स्वेच्छाले आत्मसमर्पण गर्नु प्रहरीको बढ्दो दबाब र सक्रियताको संकेत मानिएको छ। तर अर्कोतर्फ यति ठूलो परिमाणमा अवैध मदिरा र लागूऔषध बरामद हुनु भने बिहारमा मदिराबन्दी लागू भए पनि तस्करी र लागूऔषध कारोबार अझै गम्भीर चुनौतीका रूपमा रहेको स्पष्ट संकेत हो। आगामी दिनमा प्रहरीले यो अभियानलाई कत्तिको प्रभावकारी रूपमा निरन्तरता दिन सक्छ भन्ने विषय महत्वपूर्ण रहनेछ।

तपाईको प्रतिक्रिया