काठमाडौं। नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतको सरुवा नियमित प्रक्रिया भएको जनाएको छ।

प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले विज्ञप्ति जारी गरी सरुवाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारमा कुनै सत्य नरहेको बताए।

उक्त सरुवा र काज नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको प्रहरीले स्पष्ट पारेको छ। “अख्तियारमा कार्यरत प्रहरी अधिकृतको काज र सरुवा प्रचलित कानुनी व्यवस्था र स्थापित प्रशासनिक प्रक्रियाबमोजिम गरिएको हो। यो कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभई नियमित कर्मचारी व्यवस्थापनको सिलसिलामा सम्पन्न गरिएको नियमित प्रशासनिक प्रक्रिया हो”, विज्ञप्तिमा भनिएको छ।

उनले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार प्रकाशित वा प्रसारित हुँदा आमनागरिकमा भ्रम सृजना हुने र सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने बताए। प्रहरी प्रवक्ता काफ्लेले तथ्यहीन र भ्रमपूर्ण सूचनाको पछि नलाग्न सबैलाई अनुरोध गरे।

नेपाल प्रहरी सधैँ कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता र स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया