गणेशकाे स्वास्थ्य अवस्था बुझ्न वीर अस्पतालमा गृहमन्त्रीसहितकाे टाेली, फाइल तस्बिर

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी कार्यालयअगाडि पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर भएपछि सरकारले चिकित्सकको सुझावअनुसार थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेशको उपचारमा संलग्न चिकित्सकले सुरुमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिएको थियो।

यसका लागि गृहमन्त्री सुदन गुरुङ स्वयं खटिएका थिए। साथै, सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट बेहोर्ने निर्णयसमेत गरिएको थियो।

वीर अस्पतालको ‘बर्न आइसियू वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् जोखिम हुने चिकित्सकले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलगिने भएको हो।

चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचार गर्न भारत लैजान सुझाव दिएका छन्। गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) गए रातीदेखि निरन्तर खटिरहेका छन्।

बिहीबार दिउँसो ३ः०० बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ।

वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राडा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा संलग्न छन्।

तपाईको प्रतिक्रिया