विराटनगर — नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङले कोशी अस्पताल परिसरमा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र जबरजस्ती हटाइए पनि रक्तसञ्चार सेवा कुनै हालतमा नरोकिने जनाएको छ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति सुकदेवप्रसाद मण्डलले सरकारले हालको संरचना खाली गराए पनि टेन्ट टाँगेर वा आवश्यक परे सडकबाटै सेवा सञ्चालन गरिने बताए। उनले रक्तसञ्चारजस्तो संवेदनशील मानवीय सेवा कुनै पनि परिस्थितिमा अवरुद्ध हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
सभापति मण्डलले देवकोटा चोकस्थित जग्गा र भवन रेडक्रसकै स्वामित्वमा रहेको दाबी गर्दै त्यससम्बन्धी प्रमाण मालपोत तथा नापी कार्यालयका अभिलेखमा रहेको बताए। उनका अनुसार वि.सं. २०२८ सालमा कोशी अस्पतालकै आग्रहमा तत्कालीन रेडक्रस सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको नेतृत्वमा अस्पतालको एउटा सानो कोठाबाट रक्तसञ्चार सेवाको सुरुआत गरिएको थियो। पछि अस्पताल व्यवस्थापन समितिको निर्णय र सरकारी स्वीकृतिपछि समाजसेवी स्वर्गीय चाँदमल राठीको सहयोगमा भवन निर्माण गरी सेवा विस्तार गरिएको उनले जानकारी दिए।
रेडक्रसद्वारा जारी विज्ञप्तिमा रगतको कुनै कृत्रिम विकल्प नरहेको उल्लेख गर्दै दुर्घटना, प्रसूति, जटिल शल्यक्रिया, क्यान्सर, थालासेमिया तथा रक्तअल्पताजस्ता बिरामीका लागि समयमै रगत उपलब्ध हुनु जीवन र मृत्युबीचको निर्णायक आधार बन्न सक्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार अस्पतालकै निर्णय र अनुरोधका आधारमा अस्पताल नजिकै रक्तसञ्चार सेवा सञ्चालन हुँदै आएको छ। हाल दैनिक १०० भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् भने स्थापना भएयता लाखौँ बिरामीले सुरक्षित तथा गुणस्तरीय रक्तसेवा प्राप्त गरिसकेका छन्।
यता कोशी अस्पतालले असार ५ गते १५ दिने र असार २२ गते ७ दिने सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र हटाउन तथा भवन खाली गर्न निर्देशन दिएको छ। रेडक्रसले केन्द्रबाट सेवा अवरुद्ध भए आकस्मिक तथा दीर्घरोगी बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ हुने र मानवीय सेवा नै प्रभावित हुने चेतावनी दिएको छ।
रेडक्रसले आफू गैरनाफामूलक सामाजिक संस्था भएकाले सरकार वा अन्य निकायबाट नियमित आर्थिक सहयोग नपाउने जनाएको छ। सेवा केन्द्रमा रहेका केही सटर तथा कोठाबाट प्राप्त आम्दानीबाट क्यान्सरका बिरामीलाई सेवा शुल्कमा ५० प्रतिशत छुट, रक्तदाताका लागि रिफ्रेसमेन्ट, उपकरण तथा भवनको बीमा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।
रेडक्रसले देवकोटा चोकस्थित केन्द्रबाटै रक्तसञ्चार सेवा निरन्तर सञ्चालन गर्न दिन स्थानीय नागरिक, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ। साथै आगामी दिनमा सेवा अझ गुणस्तरीय, आधुनिक, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यसैबीच, कोशी अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच देवकोटा चोकस्थित जग्गाको स्वामित्वलाई लिएर विवाद तीव्र बन्दै गएको छ। विवाद समाधान नहुँदा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको भविष्य अन्योलमा परेको छ।







